काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक स्रोतबाट सरकारले कुल ६ खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
आन्तरिक राजस्व विभागका अनुसार संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा आयकरको रहेको छ। गत आवमा २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ आयकर उठेको छ, जुन अघिल्लो आवको तुलनामा ७.२२ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा आयकरबाट २ खर्ब ५९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) संकलन पनि बढेको छ। गत आवमा विभागले १ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँ भ्याट उठाएको छ। यो अघिल्लो आवको १ खर्ब ४६ अर्ब ८७ करोड रुपैयाँको तुलनामा ३.८६ प्रतिशतले बढी हो।
अन्तःशुल्क संकलनमा पनि वृद्धि देखिएको छ। आन्तरिकतर्फ अन्तःशुल्कबाट गत आवमा १ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको छ। अघिल्लो आवमा यो रकम १ खर्ब २२ अर्ब ३ करोड रुपैयाँ रहेको थियो। यस आधारमा अन्तःशुल्क संकलन ११ प्रतिशतले बढेको विभागको तथ्यांक छ।
स्वास्थ्य सेवा करतर्फ पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष स्वास्थ्य सेवा करबाट ६ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो आवको ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी हो। यस शीर्षकमा चुरोट, बिँडी लगायतका स्वास्थ्य जोखिमयुक्त वस्तुमा लाग्ने करसमेत समावेश हुन्छ।
शिक्षा सेवा शुल्क संकलन पनि बढेको छ। अघिल्लो आवमा ३ अर्ब ६१ करोड रुपैयाँ संकलन भएकोमा गत आवमा यो रकम बढेर ३ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

