काठमाण्डौ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूध आपूर्ति गर्दै आएका सहकारी संस्था तथा निजी फार्मलाई साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पर्क गरी कारोबार नवीकरण गर्न निर्देशन दिएको छ।
तोकिएको समयभित्र सम्पर्कमा नआउने सहकारी तथा फार्मबाट दूध खरिद गर्न संस्थान बाध्य नहुने डीडीसीले स्पष्ट पारेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ देखि दूध संकलन प्रणालीलाई प्रविधिमैत्री, अनुमानयोग्य, दिगो र व्यवस्थित बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको संस्थानले जनाएको छ।
डीडीसीसँग दूध कारोबार निरन्तर राख्न चाहने दुग्ध उत्पादक सहकारी संस्था र निजी फार्मले आफूलाई पायक पर्ने जिल्ला आयोजना कार्यालय वा चिस्यान केन्द्रमा सम्पर्क गरी नवीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ।
डीडीसीको सूचनामा भनिएको छ, ‘२०८३ साउन मसान्तसम्म सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध कारोबार गर्न संस्थान बाध्य नहुने बेहोरा जानकारी गराइन्छ।’
यस व्यवस्थाअनुसार साउन मसान्तभित्र सम्पर्क तथा नवीकरण नगर्ने सहकारी वा निजी फार्मको दूध संकलन डीडीसीले रोक्न सक्नेछ।
सरकारी स्वामित्वको डीडीसीले विगत ५७ वर्षदेखि देशका विभिन्न स्थानमा रहेका सहकारी, निजी फार्म तथा किसानबाट दूध संकलन गरी दुग्धजन्य वस्तु उत्पादन र बिक्री गर्दै आएको छ।

