काठमाण्डौ ।नेपालमा यस वर्ष डेंगु संक्रमण अघिल्ला वर्षहरूको तुलनामा कम देखिए पनि स्वास्थ्य विज्ञहरूले जोखिम टरिसकेको निष्कर्ष ननिकाल्न आग्रह गरेका छन्। मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा पानी जम्न थालेकाले आगामी केही सातादेखि संक्रमण तीव्र रूपमा बढ्न सक्ने उनीहरूको चेतावनी छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को जुन १५ सम्मको तथ्यांकअनुसार देशका ७१ जिल्लामा एक हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ।
यो संख्या सन् २०२२ र २०२३ को तुलनामा कम भए पनि यसलाई जोखिम घटेको संकेतभन्दा आगामी सम्भावित प्रकोप रोक्ने तयारीको अवसरका रूपमा लिनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
इडीसीडीको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार स्थानीय तह, स्वास्थ्य निकाय र समुदायको सक्रियतामा सञ्चालन गरिएका सरसफाइ अभियान, पानी जम्ने स्थानको व्यवस्थापन तथा लामखुट्टेको लार्भा नष्ट गर्ने प्रयासका कारण हाल संक्रमण कम देखिएको हो।
उनका अनुसार अहिले मासिक औसत १०० देखि १५० जनामा संक्रमण पुष्टि भइरहेको छ। तर नेपालमा डेंगु संक्रमण उच्च हुने मुख्य समय अझै सुरु भएको छैन।
“अगस्टदेखि अक्टोबरसम्म डेंगु संक्रमण सबैभन्दा बढी देखिने गर्छ,” डा. दाहालले भने, “मनसुनसँगै घरआँगन, निर्माणाधीन भवन, सडकछेउ, पुराना टायर, गमला, ड्रम, बाल्टिन र बोतलमा पानी जम्छ। यस्ता स्थानमा एडिस लामखुट्टेले अण्डा पार्ने भएकाले केही सातामै यसको संख्या बढ्न सक्छ।”
उनका अनुसार डेंगु नियन्त्रणको प्रभावकारी उपाय बिरामी भएपछि उपचार खोज्नुभन्दा लामखुट्टेको प्रजनन चक्र रोक्नु हो। घरभित्र र वरपर पानी जम्न नदिने, पानी राखिने भाँडा नियमित सफा गर्ने र सातामा कम्तीमा एकपटक सम्भावित प्रजननस्थल नष्ट गर्नुपर्ने उनको सुझाव छ।
शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टे भगाउने मलम प्रयोग गर्ने, झ्याल–ढोकामा जाली राख्ने तथा आवश्यक परे दिउँसो पनि झुल प्रयोग गर्दा संक्रमणको जोखिम घटाउन सकिने उनले बताए।
महामारी आएपछि मात्र सक्रिय हुने प्रवृत्ति
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि संक्रमित संख्या कम देखिएकै आधारमा जोखिम टरेको मान्न नहुने बताउँछन्।
उनका अनुसार नेपालमा डेंगु अब मौसमी रोगमा मात्र सीमित छैन। हरेक दुई–तीन वर्षमा ठूलो प्रकोपका रूपमा दोहोरिने गम्भीर जनस्वास्थ्य समस्या बनिसकेको छ।
नेपालमा सन् २००४ मा पहिलोपटक पुष्टि भएको डेंगु अहिले हिमाली भेगबाहेक अधिकांश जिल्लामा फैलिसकेको छ। नेपालले सन् २०१९ र २०२२ मा डेंगुबाट ठूलो क्षति बेहोरेको थियो। सन् २०२२ मा आधिकारिक तथ्यांकअनुसार डेंगुबाट ८८ जनाको मृत्यु भएको थियो।
डा. पुनका अनुसार नेपालमा महामारी फैलिएको समयमा मात्रै सरसफाइ, लामखुट्टे नियन्त्रण र जनचेतनाका कार्यक्रम तीव्र बनाउने प्रवृत्ति छ। संक्रमण घटेपछि यस्ता गतिविधि सुस्ताउँदा नयाँ प्रकोप झन् ठूलो हुने जोखिम रहन्छ।
जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व र वर्षाको बदलिँदो स्वरूपले एडिस लामखुट्टेको विस्तारलाई सहज बनाएको उनको भनाइ छ।
ज्वरो घट्नु निको भएको संकेत होइन
डा. पुनका अनुसार डेंगुबारे समाजमा रहेको सबैभन्दा जोखिमपूर्ण भ्रम ज्वरो घटेपछि बिरामी निको भयो भन्ने हो।
डेंगु संक्रमित केही व्यक्ति ज्वरो घटेपछि काममा फर्किने र अस्पताल नजाने गर्छन्। बिरामी सामान्य रूपमा हिँडडुल गरिरहेको देखिए पनि शरीरभित्र रोग जटिल बनिरहेको हुन सक्ने अवस्थालाई उनले ‘वाकिङ डेंगु’ भनेका छन्।
डेंगु भएका अधिकांश बिरामी पर्याप्त आराम, झोलिलो पदार्थ र चिकित्सकीय सल्लाहअनुसार उपचार गरेपछि निको हुन्छन्। तर केही बिरामीमा रोगले अचानक गम्भीर रूप लिन सक्छ।
“डेंगुलाई सामान्य भाइरल ज्वरो ठानेर बेवास्ता गर्नु सबैभन्दा ठूलो भूल हो,” डा. पुनले भने।
उनका अनुसार ज्वरो घटेको २४ देखि ४८ घण्टाभित्र बिरामीको अवस्था गम्भीर हुन सक्छ। यस अवधिमा रक्तनलीबाट प्लाज्मा चुहिने, रक्तचाप घट्ने र शरीरका महत्वपूर्ण अङ्गमा रगतको प्रवाह कम हुने जोखिम हुन्छ। चिकित्सकीय भाषामा यसलाई डेंगुको ‘क्रिटिकल फेज’ भनिन्छ।
लगातार बान्ता हुनु, धेरै पेट दुख्नु, अत्यधिक कमजोरी महसुस हुनु, नाक वा गिजाबाट रगत आउनु, दिसा वा पिसाबमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु तथा बिरामी असामान्य रूपमा सुस्त हुँदै जानु गम्भीर अवस्थाका चेतावनी संकेत हुन्।
यस्ता लक्षण देखिए घरमै उपचार गरेर बस्नुभन्दा तत्काल अस्पताल पुग्नुपर्ने डा. पुनको सुझाव छ।
डेंगुका कारण मृत्यु हुनुको मुख्य कारण भाइरस मात्र नभई त्यसले शरीरमा ल्याउने जटिल परिवर्तन हुन्। प्लाज्मा चुहिएपछि रक्तचाप अत्यधिक घटेर बिरामी ‘शक’मा पुग्न सक्छ। कलेजो, मिर्गौला, मुटु र मस्तिष्कजस्ता महत्वपूर्ण अङ्ग प्रभावित हुन सक्छन्।
त्यसैले डेंगुको उपचारमा प्लेटलेटको संख्या मात्र नभई बिरामीको समग्र स्वास्थ्य अवस्था मूल्यांकन गर्नुपर्ने उनी बताउँछन्।
दीर्घरोगी र गर्भवती बढी जोखिममा
ज्येष्ठ नागरिक, गर्भवती महिला, मधुमेह, उच्च रक्तचाप, मुटु वा मिर्गौलासम्बन्धी रोग भएका व्यक्ति डेंगुबाट बढी जोखिममा हुन्छन्। बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा पनि विशेष सतर्कता आवश्यक हुन्छ।
यस्ता व्यक्तिमा सामान्य ज्वरो देखिए पनि डेंगु परीक्षण र चिकित्सकीय निगरानी आवश्यक पर्न सक्ने डा. पुन बताउँछन्।
डेंगु भाइरसबाट हुने रोग भएकाले एन्टिबायोटिकले यसको उपचार हुँदैन। आइबुप्रोफेन, डाइक्लोफेनाक र एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधिले रक्तस्रावको जोखिम बढाउन सक्छन्। त्यसैले चिकित्सकको सल्लाहबिना यस्ता औषधि सेवन गर्नु हुँदैन।
पर्याप्त आराम, प्रशस्त झोलिलो पदार्थ र चिकित्सकले सिफारिस गरेको औषधि प्रयोग गर्नु नै सुरक्षित उपाय भएको विज्ञहरूको भनाइ छ।
एकपटक डेंगु लागिसकेपछि फेरि संक्रमण हुँदैन भन्ने बुझाइ पनि गलत छ। डेंगु भाइरसका चारवटा फरक सेरोटाइप भएकाले एउटा प्रकारबाट निको भएको व्यक्तिलाई अर्को प्रकारले पुनः संक्रमित बनाउन सक्छ। कतिपय अवस्थामा दोस्रो संक्रमण पहिलोभन्दा गम्भीर हुन सक्छ।
रोकथाम नै प्रभावकारी उपाय
डेंगु सार्ने एडिस लामखुट्टे बिहान र दिउँसो पनि सक्रिय हुन्छ। त्यसैले राति झुल प्रयोग गर्नु मात्र पर्याप्त हुँदैन।
व्यक्तिगत सावधानीसँगै समुदायस्तरमा पानी जम्न नदिने, लामखुट्टेको लार्भा नष्ट गर्ने र नियमित सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
यस वर्ष हालसम्म संक्रमण कम देखिनु अन्तिम सफलता नभई सम्भावित जोखिमविरुद्ध तयारी गर्ने अवसर भएको उनीहरू बताउँछन्।
स्थानीय तह, स्वास्थ्य निकाय र नागरिकले अहिलेबाटै लामखुट्टे नियन्त्रण तथा जनचेतनाका कार्यक्रमलाई निरन्तरता दिए विगतजस्तो ठूलो प्रकोप रोक्न सकिने विज्ञहरूको भनाइ छ। तर अहिलेको अवस्थालाई सामान्य ठानेर बेवास्ता गरिए मनसुनको मध्य र अन्त्यतिर डेंगुले पुनः गम्भीर चुनौती खडा गर्न सक्ने उनीहरूको चेतावनी छ।

