काठमाण्डौ । प्रदेश सरकारहरूको नयाँ सत्ता समीकरणका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस दुवैसँग संवाद अघि बढाउने भएका छन्।
श्रीलङ्काबाट आइतबार स्वदेश फर्किएका प्रचण्डले सोमबार बिहान पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई उनको निवासमै पुगेर भेटेका हुन्। एन्टिबायोटिक सेवन गरिरहेका नेपाल स्वास्थ्यलाभ गरिरहेका छन्।
करिब एक घण्टा भएको भेटमा प्रदेश सरकारको सत्ता समीकरणबारे एमाले र कांग्रेस दुवैसँग संवाद अघि बढाउने प्रारम्भिक समझदारी भएको बताइएको छ। यद्यपि, ठोस निर्णय भने भइसकेको छैन।
निकट स्रोतका अनुसार दुवै पक्षसँग छलफल गरेपछि राजनीतिक रूपमा सहज हुने पक्षसँग सहकार्य गर्ने विषयमा दुई नेताबीच कुराकानी भएको हो। अन्तिम निर्णय गर्नुअघि पुनः छलफल गर्ने सहमति पनि भएको छ।
नेपालका सचिवालय सदस्य लक्ष्मण रेग्मीले दुई नेताबीच संवादको सुरुवात भएको तर कुनै उपलब्धिमूलक निर्णय नभएको बताए।
‘अहिलेलाई दुवै पक्षसँग संवाद अघि बढाउने विषयमा सामान्य छलफल भएको हो,’ रेग्मीले भने, ‘स्वास्थ्यका कारण लामो कुराकानी हुन सकेन। फेरि भेट्ने सहमति भएको छ।’
ओली लचिलो भए एमालेसँग संवाद
एमाले अध्यक्ष केपी शर्मा ओली नेकपासँग सहकार्यका लागि लचिलो रूपमा प्रस्तुत भए प्रदेश सत्ता समीकरणबारे संवाद अघि बढाउन सकिने विषयमा पनि प्रचण्ड र नेपालबीच छलफल भएको छ।
पछिल्लो समय ओलीले प्रचण्डसँग सम्बन्ध सुधार गर्दै थप संवाद गर्न चाहेको नेकपाका नेताहरूको बुझाइ छ। ओली लचिलो बनेमा एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सत्ता साझेदारीबारे औपचारिक वार्ता हुन सक्ने बताइएको छ।
तर सोमबार नै प्रचण्ड र ओलीबीच भेटवार्ता हुने निश्चित भइसकेको छैन। प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले आवश्यकताअनुसार नेताहरूसँग भेटवार्ता हुन सक्ने भए पनि ओलीसँगको भेटको तालिका तय नभएको बताए।
गगन–प्रचण्डबीच निरन्तर फोन संवाद
सम्भावित सत्ता सहकार्यबारे नेपाली कांग्रेसका सभापति गगन थापा र प्रचण्डबीच पनि निरन्तर टेलिफोन संवाद भइरहेको छ।
कांग्रेसले भने नेकपाले एमालेसँगको गठबन्धन तोडेको औपचारिक निर्णय गरेपछि मात्रै सत्ता सहकार्यबारे विस्तृत छलफल गर्ने सन्देश प्रचण्डलाई दिएको छ।
गगन र प्रचण्डबीच प्रत्यक्ष भेटवार्ताको सम्भावना रहे पनि अहिलेसम्म समय तय भएको छैन।
कांग्रेसका एक पदाधिकारीका अनुसार सहकार्यका लागि केही सकारात्मक संकेत देखिए पनि दुवै पक्ष अहिले आन्तरिक तयारीमै छन्।
‘सहकार्यका विषयमा सकारात्मक कुरा आएका छन्,’ ती पदाधिकारीले भने, ‘तर उहाँहरूले एमालेसँगको गठबन्धनबारे औपचारिक निर्णय गरेपछि थप छलफल गरौँ भन्ने हाम्रो धारणा हो। कांग्रेस जबर्जस्ती गर्ने पक्षमा छैन।’
प्रदेश सरकारहरूको समीकरण फेरबदल भइरहेका बेला प्रचण्डले एमाले र कांग्रेस दुवैसँग समानान्तर संवाद अघि बढाउन खोज्नुलाई सत्ता सहकार्यमा आफ्नो दलको भूमिका बलियो बनाउने रणनीतिका रूपमा हेरिएको छ।

