काठमाण्डौ । सरकारले सार्वजनिक बिदाको विद्यमान व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ।
सरकारका सचिवहरूको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चारवटा मन्त्रालयका प्रतिनिधि सहभागी रहनेछन्।
शनिबार र आइतबार दुई दिन साप्ताहिक बिदा दिने व्यवस्था सुरु भएपछि सार्वजनिक बिदाको संख्या तथा त्यसको प्रभावबारे पुनरावलोकन गर्न आवश्यक देखिएको बैठकको निष्कर्ष छ।
गठित कार्यदलले सार्वजनिक बिदाको वर्तमान अवस्था, सेवा प्रवाह तथा सरकारी कामकाजमा परेको प्रभावलगायत विषयमा अध्ययन गर्नेछ। अध्ययनपछि कार्यदलले आवश्यक सुझावसहितको प्रतिवेदन १५ दिनभित्र गृह मन्त्रालयमा पेश गर्नेछ।
कार्यदलको प्रतिवेदनका आधारमा सरकारले सार्वजनिक बिदाको संख्या, प्रकृति तथा व्यवस्थामा आवश्यक संशोधन गर्न सक्नेछ।

