मंगलवार, श्रावण ५,२०८३ 06:39:27
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 06:39:27
Bizshala
Global IME Bank Limited

तेस्रो मुलुकबाट आयातित मालसामान बोकेको कार्गो रेल विराटनगर आइपुग्यो

तेस्रो मुलुकबाट आयातित मालसामान बोकेको कार्गो रेल विराटनगर आइपुग्यो
New Office

काठमाण्डौ । तेस्रो मुलुकबाट आयात गरिएको मालसामान बोकेको कार्गो रेल विराटनगर–१८, बुधनगरस्थित एकीकृत जाँच चौकी नजिक रहेको नेपाल कस्टम यार्डसम्म आइपुगेको छ। सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकामा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको रेपसिड दाना बोकेको कार्गो रेल आइतबार नेपाल आइपुगेको हो।

केएल दुगड ग्रुपले अस्ट्रेलियाबाट आयात गरेको उक्त दाना कोलकाताबाट गत शुक्रबार छुटेको कार्गो रेलमार्फत ल्याइएको हो। रेलको ¥याकमा रहेका ४० वटा कन्टेनरमा करिब एक हजार ७० टन दाना रहेको कम्पनीले जनाएको छ।

विराटनगर क्षेत्रमा तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल करिब तीन वर्षपछि पुनः सञ्चालनमा आएको हो। यसअघि २०८० साल जेठ ३० गते सुनसरी–मोरङ औद्योगिक करिडोरकै आरती स्ट्रिप्सको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलोपटक आएको थियो। त्यसपछि कार्गो रेल सेवा रोकिएको थियो।

यसअघि उद्योगी–व्यवसायीले भारत हुँदै औद्योगिक कच्चा पदार्थ कार्गो रेलमार्फत आयात गर्दै आए पनि ती सामग्री विराटनगर नजिकै रहेको भारतीय कस्टम यार्डमा ह्यान्डलिङ हुँदै आएको थियो। अहिले भने नेपाल कस्टम यार्डसम्मै कार्गो रेल आउन थालेपछि आयात प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ।

विराटनगर आईसीपी व्यवस्थापन गर्दै आएको ट्रान्स नेपाल टीआरएस लोजिपार्कका व्यवस्थापक लक्ष्मी सुब्बाका अनुसार उक्त मालवाहक रेल भारतीय सरकारअन्तर्गतको कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडको हो।

नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधनपछि तेस्रो मुलुकबाट रेलमार्ग हुँदै सामान आयात गर्ने बाटो खुलेको हो। २०८२ कात्तिक २७ गते पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने सहमति भएको थियो भने त्यसलाई २०८२ फागुन १४ गते अन्तिम रूप दिइएको थियो। संशोधनपछि कन्टेनर तथा बल्क कार्गो दुवै ढुवानी गर्न सकिने व्यवस्था भएको छ।

यसअघि तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै आउने कोइला, सिमेन्ट, रासायनिक मल र क्लिङ्करजस्ता सीमित बल्क कार्गो मात्रै ल्याउन सकिने व्यवस्था थियो। नयाँ व्यवस्थाले औद्योगिक कच्चा पदार्थ तथा अन्य वस्तुको ढुवानीमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.