काठमाण्डौ । सर्वोच्च अदालतमा गत आर्थिक वर्ष कार्यरत न्यायाधीशहरूमध्ये पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले तुलनात्मक रूपमा सबैभन्दा कम मुद्दा फर्स्यौट गरेको देखिएको छ।
सर्वोच्च अदालतले तयार पारेको न्यायाधीशहरूको न्याय निरूपणसम्बन्धी विवरणअनुसार राउतले प्रतिदिन औसत ३.५३ वटा मुद्दा फर्स्यौट गरेका छन्। यो २० जना न्यायाधीशमध्ये सबैभन्दा कम हो।
प्रधानन्यायाधीश डा. शर्माले प्रतिदिन औसत ५.७९ वटा मुद्दा फर्स्यौट गरेका छन्। उनी मुद्दा फर्स्यौटको दैनिक अनुपातमा दोस्रो पुछारमा परेका छन्।
गत आर्थिक वर्ष सर्वोच्च अदालतका २० न्यायाधीशले मुद्दा, रिट तथा विभिन्न निवेदनसहित करिब २४ हजार पाँच सय मुद्दा फर्स्यौट गरेका थिए। न्यायाधीशले अदालतमा काम गरेको दिन र फर्स्यौट गरेको कुल मुद्दाको संख्या गणना गरी प्रतिदिन मुद्दा फर्स्यौटको अनुपात निकालिएको हो।
गत वर्ष अवकाश पाएका न्यायाधीश डा. कुमार चुडालले प्रतिदिन औसत ९.५ वटा मुद्दा फर्स्यौट गर्दै सबैभन्दा बढी मुद्दा टुंग्याउने न्यायाधीश बनेका छन्।
चुडालपछि न्यायाधीश टेकप्रसाद ढुंगानाले प्रतिदिन औसत ९.४४ वटा मुद्दा फर्स्यौट गरेका छन्। कुल संख्याका आधारमा भने ढुंगानाले सबैभन्दा धेरै एक हजार ९३६ वटा मुद्दा फैसला गरेका छन्।
न्यायाधीश श्रीकान्त पौडेलले प्रतिदिन औसत ८.४५ वटा मुद्दा फर्स्यौट गरेका छन्। कुल संख्याका आधारमा उनी दोस्रो धेरै मुद्दा फैसला गर्ने न्यायाधीश बनेका छन्।
त्यसपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठले प्रतिदिन औसत ८.०४ वटा मुद्दा टुंग्याएका छन्। दैनिक मुद्दा फर्स्यौटको अनुपातमा उनीपछि हरि फुयाल, सपना प्रधान मल्ल, कुमार रेग्मी, महेश शर्मा पौडेल, शान्तिसिंह थापा र अब्दुल अजीज मुसलमानलगायत न्यायाधीश रहेका छन्।
सर्वोच्चका २० न्यायाधीशले प्रतिदिन औसत ७.३७ वटा मुद्दा फर्स्यौट गरेको तथ्याङ्कले देखाएको छ। तीमध्ये नौ जना न्यायाधीशले मात्रै औसतभन्दा बढी मुद्दा टुंग्याएका छन्।
डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा संवैधानिक परिषद्ले उनले धेरै मुद्दा फैसला गरेको विवरणलाई समेत आधार बनाएको दाबी गरिएको थियो। तर पछिल्लो दैनिक अनुपातमा उनी कम मुद्दा फर्स्यौट गर्ने दोस्रो न्यायाधीश देखिएका छन्।
सर्वोच्च अदालतले तल्ला तहका अदालतबाट पुनरावेदनका रूपमा आएका मुद्दा, असाधारण अधिकारक्षेत्रअन्तर्गतका रिट, मुद्दा दोहोर्याउने तथा पुनरावेदन अनुमति, एकल इजलासबाट टुंगिने निवेदन र अन्य फुटकर निवेदनको सुनुवाइ तथा न्याय निरूपण गर्दै आएको छ।

