काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ। उक्त रकम सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट संकलन भएको कोषले जनाएको छ।
कोषका अनुसार हालसम्म २३ हजार ४९० रोजगारदाता र ३० लाख ४३ हजार २०० योगदानकर्ता सूचीकृत भएका छन्। यस अवधिमा विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत रु २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबरको दाबी भुक्तानी गरिएको छ।
दाबी भुक्तानीमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा शीर्षकमा रु तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२, दुर्घटना तथा अशक्तता सुरक्षा शीर्षकमा रु ३० करोड ४६ लाख छ हजार ५१४, आश्रित परिवार सुरक्षा शीर्षकमा रु ३८ करोड चार लाख २५ हजार २१६ तथा अवकाश सुरक्षा शीर्षकमा रु १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ वितरण गरिएको कोषले जनाएको छ।
कोषका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा समेटिएपछि योगदान रकम उल्लेखनीय रूपमा बढेको छ। साथै पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षा कार्यक्रम विस्तार हुँदै जाँदा कोषप्रति आम नागरिकको आकर्षण र विश्वास पनि बढ्दै गएको जनाएको छ।
कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको उल्लेख गर्दै यसबाट योगदानकर्ता, अर्थतन्त्र र सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रूपमा बहुआयामिक लाभ पुग्ने अपेक्षा गरिएको जनाएको छ।

