बिहीबार, श्रावण ७,२०८३ 03:35:08
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 03:35:08
Bizshala
Global IME Bank Limited

५ लाख रुपैयाँ घुससहित लहानका कर अधिकृत पक्राउ

५ लाख रुपैयाँ घुससहित लहानका कर अधिकृत पक्राउ
New Office

 

काठमाण्डौ ।  आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई कार्यालय परिसरमै सेवाग्राहीबाट रकम बुझ्दै गर्दा नियन्त्रणमा लिएको हो।

अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार पालमाथि कर परीक्षणको काम अगाडि बढाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप छ। उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षणका क्रममा पालले विभिन्न व्यक्तिलाई मिलाउनुपर्ने भन्दै सुरुमै ५ लाख रुपैयाँ मागेका थिए। रकम नदिएसम्म लेखापरीक्षण प्रक्रिया अगाडि नबढाउने संकेत दिँदै कम्पनीसँग आवश्यक कागजात पेस गर्न लगाइएको आरोप छ।

कर परीक्षणका क्रममा कार्यालयले कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँसम्म दायित्व देखाएको बताइएको छ। थप कागजात पेस गरेपछि कर दायित्वमा अर्को ३० देखि ३५ लाख रुपैयाँसम्म वृद्धि हुन सक्ने जानकारी दिइएको स्रोतको दाबी छ।

यसै क्रममा पालले १२ लाख रुपैयाँ दिए करसम्बन्धी समस्या समाधान गरिदिने प्रस्ताव गरेको आरोप छ। कम्पनीका प्रतिनिधिले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको स्रोतले जनाएको छ।

रकम बुझाउने विषयमा पटकपटक समय र स्थान परिवर्तन गरिएको बताइएको छ। सुरुमा बिचौलियामार्फत रकम बुझाउने प्रयास गरिए पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन भनेको स्रोतको भनाइ छ।

कार्यालयमै ५ लाख रुपैयाँ बुझ्दै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। घटनामा अन्य कर्मचारी वा बिचौलियाको संलग्नता रहे–नरहेको विषयमा पनि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.