काठमाण्डौ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना देखिएको छ।
महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
मंगलबार दिउँसो हिमाली र पहाडी भू–भागसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने अनुमान गरिएको छ। मधेश प्रदेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।
देशका हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ।
यस्तै, मंगलबार राति हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
रातिको समयमा हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा सम्भावित अवरोधप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

