मंगलवार, श्रावण १२,२०८३ 06:47:56
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 06:47:56
Bizshala
Global IME Bank Limited

एलन मस्कको दाबीः सन् २०३६ सम्ममा पैसाको कुनै अर्थ हुनेछैन, एआई र रोबोटले ल्याउनेछन् ‘असीमित समृद्धि’

एलन मस्कको दाबीः सन् २०३६ सम्ममा पैसाको कुनै अर्थ हुनेछैन, एआई र रोबोटले ल्याउनेछन् ‘असीमित समृद्धि’
New Office

काठमाण्डौ । विश्वका सबैभन्दा धनी एलन मस्कले भविष्यमा पैसाको महत्व घट्न सक्ने दाबी गरेका छन्। हालैको एक पोडकास्ट कार्यक्रममा बोल्दै मस्कले सन् २०३६ सम्ममा एआई र रोबोटले मानिसले उपभोग गर्न सक्नेभन्दा धेरै वस्तु तथा सेवा उत्पादन गर्न सक्ने बताएका हुन्।

मस्कका अनुसार यस्तो अवस्था आएमा समाजमा सबैका लागि अभूतपूर्व समृद्धि सम्भव हुनेछ। ‘हामी पैसा किन चाहन्छौं ? वस्तु र सेवा किन्नका लागि होइन र ? खाना, घर, यातायात र मनोरञ्जनका लागि पैसा चाहिन्छ। तर यदि रोबोट र एआईले मानिसले आवश्यक ठानेभन्दा धेरै वस्तु र सेवा उपलब्ध गराउन थाले भने पैसाको आवश्यकता के रहन्छ ?’ मस्कले भने।

उनले यसलाई भविष्यको सबैभन्दा सकारात्मक सम्भावनाका रूपमा प्रस्तुत गरेका छन्। एआई मानिसभन्दा धेरै बुद्धिमान बन्ने मस्कको अनुमान मस्कले सन् २०३६ सम्ममा एआईको क्षमता मानिसको तुलनामा अत्यन्तै अगाडि पुग्न सक्ने चेतावनीसमेत दिएका छन्।

उनका अनुसार यदि एआई र मानिसबीचको बौद्धिक अन्तर मानिस र चिम्पान्जीबीचको अन्तरभन्दा पनि ठूलो भयो भने, मानिसले एआईलाई नियन्त्रण गर्ने अवस्था कल्पना गर्न कठिन हुनेछ। 

‘यदि एआई र मानिसबीचको बुद्धिको अन्तर एआई र चिम्पान्जीबीचको अन्तरभन्दा धेरै ठूलो भयो भने चिम्पान्जीले शासन गर्ने अवस्था जस्तो हुनेछ,’ मस्कले भने।

उनले आगामी पाँच वर्षभित्र एआईले मानिसले गर्ने अधिकांश काम अझ राम्रोसँग गर्न सक्ने अनुमान गरेका छन्। ‘सायद मानिस हुनु बाहेक अरू कुनै काम यस्तो हुनेछैन, जुन एआईले मानिसभन्दा राम्रो गर्न नसकोस्,’ उनले भने।

मस्कले एआई र रोबोटको तीव्र विकासलाई रोक्न निकै कठिन हुने बताएका छन्। उनले यसको सम्भावित जोखिम स्वीकार गर्दै पनि सकारात्मक पक्ष हेर्नुपर्ने धारणा राखेका छन्।

‘म एआई र रोबोटको यो विशाल गतिलाई रोक्ने कुनै उपाय देख्दिनँ। कहिलेकाहीँ लाग्छ, रोक्ने बटन भए पनि सायद हामीले त्यो थिच्नु हुँदैन,’ उनले भने। तर एआईको प्रभुत्व बढेपछि मुद्रा प्रणाली कस्तो हुनेछ भन्ने विषयमा भने मस्कले स्पष्ट धारणा दिएका छैनन्। एआई ‘सिंगुलारिटी’ को चर्चा बढ्दै

एआईको भविष्यबारे बहस भइरहेका बेला अन्य प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरूले पनि मानव क्षमताभन्दा अगाडि जाने एआईको सम्भावनाबारे चर्चा गरेका छन्।

ओपनएआईका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले पनि मानवता अत्यधिक सक्षम एआई प्रणालीको युगमा प्रवेश गरिरहेको बताएका छन्। उनले हालै एआई विकासको अवस्थालाई सिंगुलारिटी अर्थात् एआईले मानव बुद्धिमत्तालाई पार गर्ने अवस्थासँग जोडेर चर्चा गरेका थिए।

गुगलको एआई विभागका प्रमुख डेमिस हासाबिसले पनि मानवता सिंगुलारिटीको प्रारम्भिक चरणमा रहेको बताएका छन्। एआईले आफैंलाई अझ शक्तिशाली बनाउन सक्ने चिन्ता एआई क्षेत्रमा भविष्यका प्रणालीहरूले आफ्नैभन्दा अझ शक्तिशाली प्रणाली निर्माण गर्न सक्ने सम्भावनाबारे पनि अनुसन्धान भइरहेको छ।

ओपनएआईका पूर्व अनुसन्धानकर्ताहरूले स्थापना गरेको एन्थ्रोपिकले भविष्यका उन्नत एआई मोडलहरूले मानिसको प्रत्यक्ष हस्तक्षेपबिना आफ्ना उत्तराधिकारी प्रणाली डिजाइन, सुधार र सञ्चालन गर्न सक्ने सम्भावनाबारे सुरक्षा अनुसन्धान गरेको छ।

एन्थ्रोपिकले गरेको केही नियन्त्रित सुरक्षा परीक्षणमा केही एआई मोडलहरूले अत्यधिक काल्पनिक जोखिमपूर्ण अवस्थामा आफ्नो उद्देश्य पूरा गर्न छलपूर्ण व्यवहार देखाएको उल्लेख गरेको छ। कम्पनीले ती परीक्षण वास्तविक प्रयोगका उदाहरण नभई सम्भावित जोखिम बुझ्न गरिएको अध्ययन भएको स्पष्ट पारेको छ।

अन्य अनुसन्धानकर्ताहरूले पनि सुरक्षा परीक्षणका क्रममा केही उन्नत एआई प्रणालीहरूले लक्ष्य हासिल गर्ने क्रममा गलत सूचना दिने, छल गर्ने वा अप्रत्याशित व्यवहार देखाउन सक्ने सम्भावना अध्ययन गरेका छन्।

हालै केही रिपोर्टहरूले एआई एजेन्टहरूले भविष्यका संस्करणहरूका लागि आफ्ना सीमितता हटाउने वा नियन्त्रण प्रणालीबाट बाहिरिने प्रयाससम्बन्धी सुरक्षा अनुसन्धानबारे चर्चा गरेका छन्।

यस्ता घटनाहरूले एआई विकाससँगै सुरक्षा, नियन्त्रण र नैतिक व्यवस्थापनका विषयहरू अझ महत्वपूर्ण बन्दै गएको देखाउँछन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.