काठमाण्डौ । जर्मन लग्जरी कार निर्माता बीएमडब्ल्यूले सन् २०२७ को अन्त्यसम्म जर्मनीमा करिब ८ हजार कर्मचारी कटौती गर्ने भएको छ। कम्पनीले बुधबार स्वेच्छिक अवकाश कार्यक्रममार्फत प्रशासन र अनुसन्धान तथा विकास विभागका कर्मचारी संख्या घटाउने निर्णय गरेको जनाएको हो।
कम्पनीका अनुसार उत्पादन विभागमा कार्यरत कर्मचारी भने यस योजनाबाट प्रभावित हुने छैनन्। बीएमडब्ल्यू र श्रमिक परिषद् बीच भएको सहमतिअनुसार कर्मचारी कटौती प्रक्रिया अघि बढाइनेछ।
कम्पनीको कुल जनशक्ति करिब ८ हजारले घट्ने अपेक्षा गरिएको छ। हाल बीएमडब्ल्यूमा विश्वभर करिब १ लाख ५० हजार कर्मचारी कार्यरत छन्।
बीएमडब्ल्यूले यो निर्णय नाफामा आएको दबाब, विश्वव्यापी कमजोर माग तथा विशेषगरी चीनमा अपेक्षाभन्दा कमजोर व्यापारका कारण गरेको हो। कम्पनीले जुन महिनामै चालु आर्थिक वर्षको नाफा प्रक्षेपण घटाएको थियो।
बीएमडब्ल्यूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलान नेडेल्ज्कोभिकले उद्योगको सञ्चालन वातावरणमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै प्रतिस्पर्धी बन्न र दीर्घकालीन नाफा सुनिश्चित गर्न लागत कटौती अपरिहार्य भएको बताएका छन्। उनले आगामी समय चुनौतीपूर्ण हुने भए पनि कम्पनीको भविष्य सुरक्षित गर्न यी कदम आवश्यक रहेको कर्मचारीहरूलाई बताएका छन्।
जर्मनीको अटोमोबाइल उद्योगमा कर्मचारी कटौतीको लहर चलिरहेका बेला बीएमडब्ल्यूको यो निर्णय आएको हो। यसअघि फक्सवागन र मर्सिडिज–बेन्जले पनि दशौँ हजार कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरिसकेका छन्। विद्युतीय सवारीसाधनतर्फको महँगो रूपान्तरण, चिनियाँ कम्पनीसँगको तीव्र प्रतिस्पर्धा र अमेरिकी भन्सार शुल्कका कारण जर्मन अटो उद्योगमाथि दबाब बढिरहेको छ।
यस्तै, फक्सवागन समूहअन्तर्गतको पोर्शेले सन् २०३५ सम्म करिब २० प्रतिशत कर्मचारी घटाउने योजना अघि बढाएको छ भने अडीको नेकार्सुल्म कारखानामा सम्भावित बन्दको विरोधमा बुधबार हजारौँ कर्मचारीले प्रदर्शन गरेका छन्।

