काठमाण्डौ । सेयर बजारसम्बन्धी तालिमका नाममा सर्वसाधारणलाई ठगी गर्ने गतिविधि बढ्दै गएको भन्दै सेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष प्रशिक्षकको अनिवार्य ‘सर्टिफिकेसन प्रणाली’ तत्काल लागू गर्न माग गरेका छन् ।
धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई बुझाइएको निवेदनमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत आधिकारिकता नभएका व्यक्तिहरूले महँगो शुल्क लिएर सेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्ने, गलत सूचना तथा लगानी सुझाव (टिप्स) वितरण गर्ने र नयाँ लगानीकर्तालाई आर्थिक जोखिममा पार्ने प्रवृत्ति तीव्र रूपमा बढेको उल्लेख गरिएको छ ।
लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय अभ्यासअनुसार सेयर बजार, प्राविधिक तथा मौलिक विश्लेषण र लगानीसम्बन्धी तालिम सञ्चालन गर्न नेपाल धितोपत्र बोर्ड वा सम्बन्धित निष्पक्ष निकायबाट अनिवार्य रूपमा ‘सर्टिफाइड ट्रेनर’ लाइसेन्स लिनुपर्ने व्यवस्था तत्काल लागू गर्न माग गरेका छन् ।
त्यस्तै, बोर्डको स्वीकृति वा सर्टिफिकेसनबिना तालिम सञ्चालन गर्ने, सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना फैलाउने तथा लगानी टिप्स वितरण गर्ने व्यक्ति वा संस्थालाई गैरकानुनी घोषणा गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि गरिएको छ ।
निवेदनमा तालिम सञ्चालन गर्ने संस्था तथा प्रशिक्षकहरूको न्यूनतम योग्यता, पाठ्यक्रम र शुल्कको स्पष्ट मापदण्ड निर्धारण गर्दै दर्ता प्रणाली अनिवार्य बनाउनुपर्ने उल्लेख छ ।
यसका साथै, आधिकारिक रूपमा प्रमाणित प्रशिक्षकबाट मात्र तालिम लिन लगानीकर्तालाई नियमित रूपमा सचेत गराउने अभियान सञ्चालन गर्न बोर्डसँग आग्रह गरिएको छ ।
वर्षौंदेखि उठाउँदै आएको ‘सर्टिफिकेसन प्रणाली’ लाई अब प्राथमिकताका साथ कार्यान्वयन गरी नयाँ तथा सोझा लगानीकर्ताको सम्पत्ति सुरक्षा गर्न आवश्यक कदम चाल्न सचेत सेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डसँग आग्रह गरेका हुन् ।

