सोमबार, श्रावण १८,२०८३ 10:27:08
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:27:08
Bizshala
Global IME Bank Limited

ट्रम्पले इरानमाथिको आक्रमण स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र गिरावट

ट्रम्पले इरानमाथिको आक्रमण स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र गिरावट
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित अर्को सैन्य आक्रमण स्थगित गरेपछि सोमबारको सुरुआती चरणमै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। यसले कूटनीतिक पहलमार्फत हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने र मध्यपूर्वमा थप सैन्य तनाव टर्न सक्ने अपेक्षा बढाएको विश्लेषण गरिएको छ।

समाचार तयार पार्दासम्म डब्लूटीआई क्रुडको मूल्य ५.७९ प्रतिशतले घटेर प्रतिबारेल ७९.७७ डलरमा सीमित बनेको छ। त्यस्तै, ब्रेन्ट क्रुडको मूल्यपनि ५.१२ प्रतिशतले घटेर प्रतिबारेल ८३.४३ डलरमा झरेको थियो।

गत जुलाई महिनाभर अमेरिकी–इरान तनाव चर्किनु, हुथी विद्रोहीले साउदी अरबका बन्दरगाहहरू अवरुद्ध गर्नु तथा हर्मुज जलमार्ग र रातो सागरमार्फत हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताका कारण दुवै प्रमुख तेल सूचक २० प्रतिशतभन्दा बढीले उकालो लागेका थिए।

शनिबार राष्ट्रपति ट्रम्पले इरानविरुद्ध दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो आक्रमणको तयारी भइरहेको चेतावनी दिएका थिए। तर पछि क्षेत्रीय नेताहरूले वार्ता सफल हुने संकेत दिएपछि उनले उक्त सैन्य कारबाही स्थगित गर्ने निर्णय गरेको बताएका थिए।

यसअघि पनि तनाव कम हुने संकेत देखिएसँगै तेलको मूल्य घट्ने क्रम दोहोरिँदै आएको छ। यसपटक कूटनीतिक प्रयासले दीर्घकालीन समाधान निकाल्छ वा अघिल्ला प्रयासझैँ असफल हुन्छ भन्ने विषयमा भने बजार अझै पर्खाइमा रहेको विश्लेषकहरूको भनाइ छ।

तेलको मूल्यमा थप दबाब सिर्जना गर्ने अर्को कारणका रूपमा ओपेक प्लसले सेप्टेम्बर महिनाका लागि दैनिक करिब १ लाख ८८ हजार ब्यारेल उत्पादन कोटा बढाउने निर्णयलाई पनि हेरिएको छ। यद्यपि, क्षेत्रीय अवरोधका कारण वास्तविक उत्पादन अपेक्षाअनुसार नबढेकाले यसको तत्काल प्रभाव सीमित रहने विश्लेषण गरिएको छ।

इरानले पनि कूटनीतिक प्रयासलाई अघि बढाएको संकेत दिएको छ। इरानी अधिकारीहरूका अनुसार हर्मुज जलमार्गमार्फत नयाँ समुद्री मार्ग व्यवस्थापनका विषयमा ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको छ। 

साथै, तेहरानले ओमानको तटीय क्षेत्रमा रहेको पुरानो दक्षिणी जलमार्ग प्रयोग गर्न अब अनुमति नदिने अडान दोहोर्‍याएको छ, जसले जलमार्ग पुनः सञ्चालनमा आए पनि समुद्री ढुवानीको स्वरूप परिवर्तन हुन सक्ने संकेत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.