काठमाण्डौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २० गते मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप आजदेखि सदनको बजेट अधिवेशन सुरु हुन लागेको हो ।
बजेट अधिवेसन आज दिनको २ बजेदेखि सुरु हुन लागेको हो । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । जसपश्चात अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् ।
त्यसपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित बजेट जेठ १५ मा संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                