काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय झापाले मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने विषयमा प्रश्न गर्न नपाइने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले मतदातासँग यस प्रकारका प्रश्न सोधेर मतदाताको गोपनीयता भंग गरिरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत सर्वसाधारण तथा मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने प्रश्न गर्नु निर्वाचन आचारसंहिता, २०८२ को दफा ४९द० बमोजिम आचारसंहिता उल्लंघन हुने स्पष्ट गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी भइसकेपछि पनि यस्तो कार्य गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
साथै, मतदाताको गोपनीयता कायम गर्न सम्बन्धित सबै पक्षलाई आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको छ।

