काठमाण्डौ । मुगु जिल्लाको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण प्रस्ताव गरिएको ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक निर्माण कार्य सुरु भएको छ। एलिभेट इनर्जीद्वारा प्रवर्द्धन गर्न लागिएको अर्धजलाशय प्रकृतिको यस आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रियासमेत अगाडि बढाइएको छ।
कम्पनीले विक्रम संवत २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययन कार्य अघि बढाएको थियो। हाल विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सरोकारवालाहरूका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ।
आयोजनाबाट वार्षिक सरदर १ हजार ६२९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ।
कम्पनीका अनुसार आयोजनास्थलमा प्रारम्भिक कार्यहरू सम्पन्न भइसकेका छन् भने आयोजनाको विस्तृत डिजाइन र हेडवक्र्सको अध्ययन हाल ुहाइड्रोल्याबु मा भइरहेको छ। विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटरहरू जडान गरिने प्रविधिको सुनिश्चितता गरिएको छ।
उत्पादित विद्युत्लाई ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिने रणनीति तय गरिएको छ।
कुल ५५ अर्ब ३३ करोड रुपैयाँ अनुमानित लागत रहेको यस ठुलो पूर्वाधार आयोजनालाई सन् २०३३ को अगस्टभित्र व्यावसायिक रूपमा सञ्चालनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोड्ने लक्ष्य कम्पनीले राखेको छ।

