काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आव २०८१/८२ को तेस्रो त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म बैंकले ३ अर्ब २७ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकले १० अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले कम हो । बैंकको खुद शुल्क तथा कमीशन आम्दानी १ अर्ब १४ करोड रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २२.२५ प्रतिशतले बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
बैंकको रिटेन्ड अर्निङ १ अर्ब १० करोडले ऋणात्मक अवस्थामा रहेको छ । यस्तै बैंकको रिजर्भको आकार ३१ अर्ब ९५ करोड रुपैयाँबराबर रहेको छ ।
बैंकको निक्षेप संकलन ४ खर्ब ५५ अर्ब र कर्जा प्रवाह ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ३.२४ रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
अघिल्लो आवमा ४.६६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ६.०६ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१७.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६१० रुपैयाँ कायम भएको छ ।