काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनी आम्दानी बढाउदै र वित्त खर्च कम गर्दै नाफा आर्जन गर्न सफल भएको हो ।
कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८ करोड २८ लाख घाटामा थियो ।
कम्पनीले बिद्युत बिक्रीबाट ६५ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ५९ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको थियो। कम्पनीको वित्त आम्दानी ६ लाख ५१ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १९ करोड ४५ लाख रुपैयाँ र वित्त खर्च ३२ करोड १८ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च ४२ करोड ३२ लाख रहेको थियो ।
कम्पनीको रिटेन्ड अर्निङ ३७ करोड ६६ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार भने २१ लाख ७७ हजारले धनात्मक रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७६.४९ रुपैयाँ,तरलता अनुपात ०.४१ प्रतिशत र मूल्य आम्दानी अनुपात ११८.६४ गुणा कायम भएको छ ।