काठमाण्डौ । नेपाल सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू निरन्तर सम्पर्क रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ ।
विज्ञप्तीमा उल्लेख छ ,‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने पनि विज्ञप्तीमा उल्लेख छ ।