काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य २.८० प्रतिशत अर्थात ९०.७६ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १५३ डलरमा कारोबार भईरहेको छ । यो मूल्य पछिल्लो एक महिनाकै न्यून हो । अमेरिकाले विभिन्न देशहरुसँग व्यापारिक सम्झौता गरेसँगै विश्व व्यापार सहजतातर्फ अघि बढ्ने अपेक्षाका साथ लगानीकर्ताले सुनबाट अन्य क्षेत्रमा लगानी बढाएका छन् ।
जसका कारण सुनको मूल्यमा उच्च गिरावट आएको हो । अमेरिकाले बेलायत र चीनजस्ता ठूला अर्थतन्त्र भएका देशहरुसँग ट्यारिफका विषयमा सम्झौता गरिसकेको छ ।
राजनीतिक र आर्थिक संकटका बेला तुलनात्मक रुपमा सुरक्षित लगानीको रुपमा लिइने सुनको मूल्य गत महिना प्रतिऔंस ३ हजार ५ सय डलरको उचाईमा पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । यो वर्ष सुनको मूल्य २१ प्रतिशतले वृद्धि भईसकेको छ ।
विज्ञहरुले दिर्घकालका लागि सुन अझैपनि बुलिस रहेको तर केही दिनसम्म भने बियरिसमा चल्न सक्ने विश्लेषण गरेका छन् ।
आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदीको मूल्य १.०४ डलरले घट्दै प्रतिऔंस ३१.८९ डलरमा कारोबार भईरहेको छ ।