काठमाण्डौ । सेयरबजारमा बीमा कम्पनीहरुको पौने ३९ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २८ बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३८ अर्ब ८१ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९३.४३ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुको सेयरबजारमा २० अर्ब ६ करोड ४९ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो ।
सेयरबजारमा उतारचढाव देखिएपनि बीमा कम्पनीहरु लगानी गर्न सेयरबजारतर्फ सिफ्ट भएको देखिएको छ । बीमा कम्पनीहरुले ८० प्रतिशतभन्दा बढी रकम बैंकको मुद्दती निक्षेपमा राख्दै आइरहेकोमा मुद्दतीको ब्याजदर घटेपछि सेयरबजारतर्फ लगानी गर्न केन्द्रीत भएको देखिएको हो ।
बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ । साथै लगानी निर्देशिका बमोजिम बीमकले सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यो व्यवस्थाले पनि बीमा कम्पनीहरुको यो क्षेत्रमा लगानी बढ्न पुगेको हो ।
सेयरबजारमा २८ बीमा कम्पनीको लगानी रहेकोमा गत आवको तुलनामा ६ कम्पनीको मात्रै यस्तो लगानी घटेको छ भने बाँकी सबै कम्पनीले आक्रामक रुपमा बढाएका छन् । बजारमा बीमकहरुको शतप्रतिशत लगानी थपिँदा बजारले लय समात्स सक्ने बजार जानकारहरु बताउँछन् ।
सेयरबजारमा लगानी थप्न निर्जीवन भन्दा जीवन बीमा कम्पनीहरु एग्रेसिभ देखिएका छन् । जीवन बीमकहरुले गत आवको तुलनामा ११९।०८ प्रतिशतले लगानी थपेका छन् । गत आवको तेस्रो त्रैमाससम्म सेयरबजारमा १५ अर्ब ९ करोड रुपैयाँ मात्रै लगानी रहेकोमा चालु आवको यस अवधिसम्म ३३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । यो क्षेत्रमा लगानी गरेका १३ वटै जीवन बीमा कम्पनीले लगानी बढाएका छन् ।
सबैभन्दा बढी सिटिजन लाइफले ५२३.८१ प्रतिशतले लगानी थपेको छ । त्यस्तै, हिमालयन लाइफले २७५.५३ प्रतिशत र सूर्यज्योति लाइफले २१९.५३ प्रतिशतले लगानी बढाएका छन् ।
यता निर्जीवन बीमा कम्पनीहरुतर्फ भने यस्तो लगानी ३०.८६ प्रतिशत मात्रै बृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४७ करोड रुपैयाँ लगानी रहेकोमा चालु आवको तेस्रो त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ मात्रै पुगेको छ ।
सो अवधिसम्म आइपुग्दा ५ निर्जीवन बीमकको यस्तो लगानी घटेको छ भने ७ वटाको बढेको छ । लगानी घट्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड रहेका छन् । सेयरबजारमा सबैभन्दा लगानी बढाउने कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको यस्तो क्षेत्रमा लगानी ५८३.२९ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, पुनर्बीमातर्फ नेपाल रि इन्स्योरेन्सको सेयरबजारमा लगानी ८३.९२ प्रतिशत घटेको छ भने हिमालयन रि इन्स्योरेन्सको भने २०.४७ प्रतिशत बढेको छ । यता लघुबीमातर्फ भने लिबर्टी माइक्रो लाइफले मात्रै लगानी गरेको छ । कम्पनीको यो क्षेत्रमा लगानी १२२.४३ प्रतिशत बढेको छ ।
