काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिएको थियो, तर जेठ १८ गते सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो ।
यो ऋणपत्रमा अब जेठ २२ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले गत जेठ १८ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८र८९’ नामक ऋणपत्र निष्कासन गरेको छ ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत दरले ब्याज भुक्तानी गरिनेछ र यसको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले ऋणपत्र निष्कासनका लागि गत वैशाख ३० गते नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट स्वीकृती पाएको थियो ।