काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरको अनुपात घटाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात हकप्रद सेयरको अनुपात घटाउने निर्णय गरेको हो ।
कम्पनीले यसअघि १०ः४ अनुपातमा रु. १०० अंकित दरका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको थियो । तर अब भने कम्पनीले १०ः ३.४७८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि यही जेठ ३० गते बुक क्लोज गर्दैछ । यसर्थ जेठ २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा निष्कासन गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
गत चैत १९ गते सम्म कम्पनीको ७६ औँ वार्षिक साधारणसभाले चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको १५ प्रतिशतले हुन आउने २४ करोड ६६ लाख ३६ हजार २९१ रुपैयाँबराबरको बोनस सेयर पारित गरी चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ कायम भएकोले सोहीबमोजिम ३४.७८ प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ।