काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले ७ वर्ष अवधिभएको र वार्षिक ६ प्रतिशतको दरले व्याजप्रदान गर्नेगरी जारी गरेको रु. ५ अर्बको हरित उर्जा ऋणपत्रको निष्काशनको कार्य सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको यस ऋणपत्र निष्काशनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो ।
उक्त सयमसिमाभित्र सर्वसाधाण तर्फको रु. २ अर्बको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताहरुबाट रु. ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजारको लागि आवेदन परेको थियो भने प्राईभेट प्लेसमेन्ट तर्फको रु. ३ अर्बको लागि जम्मा २३ योग्य लगानीकर्ताहरुबाट रु. १५ अर्ब ५९ करोड ५५ लाख को लागि आवेदन परेको थियो । यस ऋणपत्रमा समग्रमा माग गरिएको भन्दा करिब ४ गुणा बढीले आवेदन परेको र प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ ।
नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको यस हरित उर्जा ऋणपत्र निष्काशनको कार्य सम्पन्न भईसकेको सन्दर्भमा यस प्रकृयामा सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाहरुलाई बैंकले धन्यवाद ज्ञापन गर्ने उद्देश्यले निफ्रालगायत ग्लोबल ग्रीनग्रोथ इन्ष्टिच्युट र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी समेतको सह–आयोजनामा जेठ २७ गते समीक्षात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
ग्लोबल ग्रीनग्रोथ इन्ष्टिच्युटको नेपालका लागि आवसीय प्रतिनिधि लाउरा जालासजोकीले अध्यक्षता गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी रहेका थिए । त्यस्तै कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्यमा. डा. आरपी बिच्छा थिए भने नेपालको लागि दक्षिण कोरियाको राजदुत टेई–योङ पार्क विशिष्ट अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रममा अतिथिहरुले नेपालमा हरित ऋणपत्र जारी हुनुको महत्व र नेपालको दिगो विकासमा यस्ता ऋणपत्रहरुले पार्ने सकारात्मक प्रभावका बारेमा आ–अफ्नाधारणाहरु राखेका थिए । यसै विषयमा अर्थमन्त्रालयको तर्फबाट सहसचिव धनीराम शर्मा, नेपाल धितोपत्र बोर्डबाट कार्यकारी निर्देशक डा. नवराज अधिकारी,नेपाल राष्ट्र बैंकको तर्फबाट सहायक निर्देशक विनित जैन वैगानी, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र कोईकाको तर्फबाट कन्ट्री डाइरेक्टर मुहोइन कोङ समेतले आ–अफ्ना धारणा राखेका थिए ।