काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनीको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर जेठ २८ गते बाँडफाँड भएको हो ।
निष्कासनकर्ता कम्पनी सानिमा क्यापिटलले बिक्री खुला गरिएको अवधिभित्र प्राप्त भएको गोप्य शिलबन्दीपत्रहरुको प्रशोधन गरी बाँडफाँड गरेको जनाएको छ । संस्थापक समूहको(लकइनमा रहेको)कटअफ मूल्य २६५ र सर्वसाधारण समूहको कटअफ मूल्य २७० रुपैयाँ रहेको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको तथा सर्वसाधारण समूहको(लकइनमा नरहेको)हकमा मागभन्दा कम सेयरका लागि आवेदन प्राप्त भएकाले रितपूर्वक आवेदन पेश गरेका आवेदकहरुलाई मागबमोजिम सेयर बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता सानिमा क्याटिलले जनाएको छ ।
आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी जेठ ३० गतेबाट हुनेछ । सर्वसाधारण समूह(लकइनमा नरहेको)तर्फ ९३ हजार ६२९ कित्ता सेयरका लागि आवेदन पर्न नआएकाले पुनः लिलामीमार्फत बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।