काठमाण्डौ । इजरायलले इरानसँगको युद्ध रोक्ने संकेत दिएको छ । इजरायली अधिकारीहरूले आइतवार यदि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आक्रमण रोक्न र समाधानतर्फ अघि बढ्ने इच्छा व्यक्त गरे भने उनीहरूको देशले सैन्य कारबाही पनि रोक्ने बताएका हुन्।
इजरायलको यो टिप्पणी अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि आएको हो । इजरायलले जुन १३ मा इरानमाथि हमला सुरु गरेको थियो । त्यसपछि जुन २२ मा अमेरिकाले पनि युद्धमा फसेको थियो र इरानमाथि हवाई हमला गरेको थियो । इजरायली समाचार वेबसाइट वायनेटको रिपोर्ट अनुसार, एक इजरायली अधिकारीले यदि खामेनीले गोली चलाउन बन्द गरे र लडाई अन्त्य गर्न चाहन्छन् यसलाई स्वीकार गर्ने बताएका छन् ।
इजरायलले दिएको युद्धविरामको संकेतका कारण दुई देशबीचको यो भीषण युद्ध रोकिने आशा बढेको छ । यद्यपी इरानले हाल यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसअघि इरानले इजरायलले आक्रमण सुरु गरेको भन्दै इजरायलले रोक्यो भने आफूले पनि जवाफी हमला रोक्ने बताएको थियो ।
इरानसँगको युद्धविराममा इजरायली अधिकारीले भने, ‘हामीले जनतालाई लामो युद्धका लागि तयार रहन भनेका छौं । युद्धको अन्त्य हामीमा होइन, इरानीहरूमा निर्भर गर्दछ। यदि इरानले हामीलाई युद्धमा तान्यो भने यसले समय लिनेछ। यद्यपि हामी यसलाई छिट्टै पूरा गर्ने आशा गर्दछौं। हामी आशा गर्छौं कि यो अर्को हप्तामा समाप्त हुनेछ। यदि इरानले आक्रमण जारी राख्यो भने हामी जवाफ दिनेछौं तर त्यसलाई लम्ब्याउन हामीलाई चासो छैन।’
इजरायली अधिकारीहरूले आफ्नो मुख्य उद्देश्य इरानको आणविक कार्यक्रमलाई हटाउनु रहेको बताए । जुन १३ मा इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गर्दै तेहरानमाथि हमला गरेको थियो । यसपछि इरानले पनि इजरायलमा मिसाइल हमला गरेको छ र दुवै पक्षबीच भिडन्त भइरहेको छ ।