काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई खरिदको म्याद थप गरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड इकाइको बिक्री आवेदन गत असार १३ गतेदेखि खुला गरिएको थियो ।
यो योजनाको खरिदका लागि छिटोमा असार १७ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । तर यसबीचमा मागबमोजिम आवेदन नपरेका कारण इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको हो । अब यो योजनाको इकाई खरिदका लागि असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । यसबीचमा मागभन्दा बढी आवेदन परेमा निर्धारिन समय अगावै निष्कासन तथा बिक्री बन्द गरिने योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटलले जनाएको छ ।
प्रति इकाइ मुल्य रु.१० दरको ५ बीजपूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ ।
यसपश्चात योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिदबिक्रीको लागि खुला गरिनेछ । यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहनेछ । पहिलो चरणको निष्कासन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनापश्चात योजनाको इकाई निरन्तर निष्कासन तथा बिक्रीका लागि खुला रहनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ५० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।