काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी नक्साल र कमलादी आसपासका ब्रोकरहाउस पुगेर लगानीकर्ता तथा ब्रोकरसञ्चालकसँग बजारको अवस्थाको विषयमा बुझ्ने प्रयास गरेका छौं । आज बिहानै देखि सामाजिक सञ्जालहरुमा अघिल्लो सातादेखि घट्न सुरु गरेको बजारमा आज के होला ? भन्ने अन्यौलता रहेको देखिन्थ्यो ।
कारोबारको पहिलो प्रहरमा ब्रोकरहाउसहरुमा पनि बजारमा आज के होला भन्ने अन्यौलता कायम नै थियो । आज हामी सबै भन्दा पहिले नक्सालमा रहेको नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । बिहान ११ बज्नै लाग्दा लगानीकर्ताहरुको आउने क्रम सुरु भयो । आज बजार खुलेदेखि नै घट्न थालेको थियो । ब्रोकर हाउसमा उपस्थित लगानीकर्ताको बडी ल्याङ्ग्वेज त्यति राम्रो देखिदैनथ्यो । यतिकैमा एक लगानीकर्ताले डिस्प्ले हेर्दै भने ‘आज पनि बजार सुरुमै माइनास भयो ? यो बजारमा पनि गरि खान कठिन रहेछ साथीहरु ।
उनीसँगै बसेका लगानीकर्ताले उनलाई ढाडस दिँदै भने, ‘धेरै नआत्तिनु साथी, बजार धेरै घटे २८ सयसम्म हो । त्यसपछि त फर्की हाल्छ नि ।’ पहिलेका लगानीकर्ता उनको यस्तो भनाईबाट सुनिश्चित देखिएनन् । ‘खै ! गत वर्ष पनि फर्किन्छ, फर्किन्छ भन्दा भन्दै २४ सय सम्म आयो । यो बजारको कुरापनि बुझिसक्नु छैन, उनले भने ।
यस ब्रोकरमा भेटिएका केही लगानीर्ताले भने आज फाइनान्स चम्कने अड्कल गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले नेपाल फाइनान्स होल्ड गर्दा गर्दा हैरान भएको गुनासो गरे । ‘एनएफएस बोक्दा बोक्दा हैरान भइयो । मैले बेचेपछि २ वटा पोजेटिभ सर्किट लाग्यो । अब त हैरान भयो आफ्नै काम तिर लाग्नु पर्ला जस्तो छ । यो बजारले गरि खान देला जस्तो छैन,’ उनले भने ।
मध्यान्हको १२ बज्दै थियो । ब्रोकरहाउसमा यस्तै गफगाफ चल्दै थिए । कारोबार करिब ३ अर्ब जस्तो ह्ुँदै थियो । बजार एकोहोरो घटिरहेको थियो । ब्रोकरहाउसमा लगानीकर्ता थकित र निराश देखिन्थे ।
केही समयको बसाईपछि हामी कमलादीमा रहेको मियो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६६) मा पुग्यौं । आज मध्यान्हमा राजधानीमा केही हल्का वर्षा भएको थियो । यस ब्रोकरमा केही लगानीकर्ता बजार हेर्न व्यस्त देखिन्थे भने केही लुँडो खेल्न मस्त दखिन्थे । यो ब्रोकरमा भेटिएका केही लगानीकर्ताले आजको बजार खेलाडीेले घटाएकोसम्म आरोप लगाउन भ्याए । यस ब्रोकरमा हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको विषयमा बुझ्ने प्रयास गर्यौं । ब्रोकर सञ्चालकले चार्ट हेर्दै आजको क्लोजिङसम्मको अवस्था हेरेर निर्णय लिन सुझाए ।
केही समयको बसाईपछि हामी नजिकै रहेको कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५)तर्फ लम्कियौं । यस ब्रोकरमा पनि लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । बजार २९ सय तल खसेर कारोबार हुँदै थियो । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरुले आज बजारमा कारोबार तथा भोल्यूम घटेको विश्लेषण गरे । ती मध्येका एकले भने, ‘खेलाडीहरुले बढाएर आफ्नो सेयर बेचे अब घटाएर खाने दाउमा छन् । नत्र अरु बजारमा अन्य केही नराम्रो छैन । किन बजार यसरी घट्छ ?
उनको कुरा सुनेपछि नजिकैका लगानीकर्ताले मुख खोले, ‘बजार बढ्न त पक्कै बढ्छ । अहिले बजार के बढेको छ र ? प्रभु बैंक बढेकै छैन । एभरेष्ट बैंक बढेकै छैन । बैंक त के बढेको छ ? अब बजार घटाएर खाने दाउ हो ।’ ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए ।
यहाँबाट हामी नजिकै रहेको मल्ल एण्ड मल्ल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ११) मा पुग्यौं । आज मध्यान्न पछि बजार एकनासले घटेको थियो । यहाँ भेटिएका केही लगानीकर्तालेहरु बजारको प्राविधिक पक्षको बिश्लेषण गर्दै बजारले कहाँ सपोर्ट लिन सक्ला भन्दै छलफल गर्दै थिए ।
केही लगानीकर्ता बजार २८ सयसम्म आएर फर्किने तर्क गर्दै थिए । हामी भने दक्षिणकाली सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३३) मा पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिती सामान्य थियो । यसबेलासम्म भित्ताको घडिमा २ बज्दै थियो । बजार एकहोरो घटेको थियो । लगानीकर्ताहरु निकै अलमलमा देखिन्थे ।
यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताले आजसम्म बजार लगातार ३ दिन घटेको र अब चौंथो कारोबारबाट सम्हालिने तर्क गर्दै थिए भने केहीले अझै केही दिन बजार राम्रो सँग नियालेर मात्रै निर्णय लिन सुझाव दिँदै थिए । ब्रोकरहाउसमा भने नयाँ खाता खोल्ने र कारोबार गर्नेहरुको भीडभाड देखिन्थ्यो । हामीले आजको स्तम्भलाई यही बिट मार्ने निधो गर्यौं ।