काठमाण्डौ । सोमबार साझ राष्ट्रिय परीक्षा बोर्डमा बैठक सुरु भएको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे सानोठिमीस्थित बोर्डको कार्यालयमा बैठक बसेको हो ।
बैठक समाप्त भएपछि नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।
यसपटकको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा १० दिन ढिला सञ्चालन भएको थियो । जसमा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए । कुल संख्यामा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् ।
यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।