काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमालेख समर्पण (पोलिसी सरेण्डर)मार्फत १५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुबाट १ लाख ८ हजार २३८ वटा बीमालेख बराबरको १५ अर्ब १५ करोड २१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।
सरेण्डर भएको रकम अघिल्लो आवको अन्त्यसम्मको तुलनामा ११.६० प्रतिशत बढी हो, भने पोलिसी संख्या भने २.७८ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमकहरुबाट १ लाख ११ हजार ३३६ वटा बीमालेख बराबरको १३ अर्ब ५७ कराड ६९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएका थिए ।
जीवन बीमकहरुबाट यसरी मासिक दरमा एक अर्ब रुपैयाँभन्दा बढी सरेण्डरमार्फत बाहिरिएको देखिएको छ । कम्पनीहरुको व्यवसायसँगै सरेण्डर रकम पनि उत्तिकै बढ्नुले जीवन बीमा क्षेत्रमा यसको प्रभाव पर्ने देखिन्छ ।
सरेण्डर दर घटाउन जीवन बीमक तथा नियामक निकाय बीमा प्राधिकरणले अनकेन योजना तथा नीतिहरु ल्याएपनि यस्तो दर झनै बढ्दै गइरहेको छ ।
कम्पनीहरुमा पोलिसी सरेण्डर रकमसँगै व्यतित भएका बीमालेख रकम पनि उत्तिकै बढ्दै गएको छ । प्राधिकरणका अनुसार अघिल्लो आवको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुमा व्यतित भएको बीमालेख रकम ३४ अर्ब ३ करोड ७१ लाख रुपैयाँ रहेकोमा गत आवको अन्त्यसम्म २।४४ प्रतिशतले बढेर ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
गत आवमा व्यतित बीमालेख संख्या १२ लाख ४३ हजार ३६५ वटा बीमालेख व्यतित भएका हुन् । यो संख्या अघिल्लो आवको तुलनामा ७।३४ प्रतिशत बढी हो । अघिल्लो आवमा ११ लाख ५८ हजार २९९ वटा बीमालेख व्यतित भएका थिए ।
यस हिसाबमा जीवन बीमा कम्पनीहरुमा गत आवको अन्त्यसम्म सरेण्डरमार्फत बाहिरिएको रकम र नविकरण नभएको बीमालेख रकम गरी कुल ५० अर्ब १६ करोड रुपैयाँ खेर गएको छ ।
सरेण्डरमार्फत बाहिरिएको १५ अर्ब १५ करोड रकम भन्दा जीवन बीमा कम्पनीहरुमा नविकरण नभएको रकम ३५ अर्ब एक करोड रुपैयाँ २.३१ गुणा बढी हो ।