काठमाण्डौ । चीनको विजय दिवस परेड सुरु हुनेबित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे प्रतिक्रिया दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल पोस्टमा पुटिन र किम जोङ उनको पनि उल्लेख गरेका छन् ।
ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘सबैभन्दा ठूलो प्रश्न यो हो कि चीनका राष्ट्रपति सीले अमेरिकाले चीनलाई आफ्नो स्वतन्त्रता सुरक्षित गर्न कति सहयोग र रगत दियो भन्ने उल्लेख गर्ने कि नगर्ने हो। चीनको विजयका लागि धेरै अमेरिकीहरूले ज्यान गुमाएका थिए। मलाई आशा छ कि उनीहरूलाई उनीहरूको बहादुरी र बलिदानको लागि उचित सम्मान र सम्झना गरिनेछ ।’
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनको पनि आलोचना गरेका छन् । उनले दुवै जनाले अमेरिका विरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् ।
ट्रम्पले लेखेका छन्, ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो हार्दिक शुभकामना सन्देश दिनुहोस्। उनीहरू दुवैले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्।’
दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८० औँ वार्षिकोत्सव चीनले मनाउँदै छ। यस अवसरमा विजय दिवस परेडको आयोजना भइरहेको छ, जसमा पुटिन र किमलगायत विश्वभरका धेरै नेताहरु सहभागी भएका छन् ।