काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पाएको स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा नेपालमा पहिलो पटक सफलतापूर्वक सुरु गरेको छ।
विश्वव्यापी 3D Secure प्रोटोकलको महत्त्वपूर्ण अङ्ग मानिने ACS ले कार्डबाहकलाई अनलाइन कारोबार गर्दा थप सजिलो र सुरक्षित प्रमाणीकरण प्रक्रिया उपलब्ध गराउनेछ। यसले ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्ने भएकाले ग्राहकलाई सुरक्षित डिजिटल कारोबारमा प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
यस सेवामा Global IME Bank पहिलोपटक आबद्ध भएको छ भने NMB Bank ले पनि सेवा उपयोग गर्न सुरु गरिसकेको छ। दुवै बैंकका ग्राहकहरूले अब अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरणमार्फत अझ सुरक्षित र सहज अनुभव पाउनेछन्।
SCT ले सुरु गरेको ACS सेवा नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनतर्फको नयाँ उपलब्धि मानिएको छ। यसले अनलाइन किनमेल, टिकटिङ तथा अन्य डिजिटल भुक्तानीलाई विश्वासिलो बनाउन मद्दत गर्नेछ। साथै, ग्राहकको डिजिटल च्यानलप्रति विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका सुरक्षा मापदण्डसँग नजिक्याउँदै नगदविहीन अर्थतन्त्रतर्फको यात्रामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।