काठमाण्डौ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आजबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको भदौ ३१ गतेको निर्देशनबमोजिम आजबाट नियमित सेयर कारोबार सुचारु हुन लागेको हो ।
बोर्डले असोज १ गतेदेखि नै सेयर बजार खोल्न निर्देशन दिएको थियो । तर असोज १ गते जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउन देशव्यापी बिदा दिएकाले उक्त दिन सेयर कारोबार हुन सकेन । यसर्थ आजबाट नेप्सेले नियमित सेयर कारोबार खोल्न लागेको हो ।
गत भदौ २३ गते अन्तिमपटक सेयर कारोबार भएको थियो । उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात ३५.९९ अंकले घटेर २ हजार ६७२.२५ विन्दुमा सीमित बनेको थियो ।
देशमा सिर्जित नयाँ घटनाक्रमले बजार र आम लगानीकर्ताको मनोविज्ञानलाई कस्तो प्रभाव पार्ला भन्ने जिज्ञाशा यतिबेला सर्वत्र व्याप्त रहेको पाइन्छ ।