काठमाण्डौ । सरकारले हालै आएको बाढीपहिरोका कारण घरबारबिहिन भएकाहरुलाई अस्थाई आवास निर्माण गर्न अनुदान प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र तत्पश्चात अस्थाई अवास निर्माणका लागि अनुदान प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले विपद् पश्चात फैलन सक्ने महामारीको आँकलन गरी रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरुमा जनचेतना, स्वास्थ्य शिविर र मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी तीनै तहका सरकारहरुले प्रदान गर्ने राहातलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानिय तहमार्फत प्रदान गर्ने र मृतक र बेपत्ता परिवारलाई कानूनबमोजिम राहत ृपलब्ध गराउने निर्णय गरेको छ ।