काठमाण्डौ । फिफा विश्वकप–२०२६ अन्तर्गत एसियाली प्रतिनिधि अस्ट्रेलियाले प्रतियोगितामा सुखद शुरुआत गरेको छ।
समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।
क्यानडाको भ्यानकुभरमा नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै टर्कीमाथि दबाब कायम राखेको थियो।
खेलको २७औँ मिनेटमा नेस्टोरी इरानकुन्दाले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा प्राप्त उक्त अग्रता अस्ट्रेलियाले दोस्रो हाफसम्म कायम राख्न सफल भयो।
दोस्रो हाफमा पनि अस्ट्रेलियाले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो।
खेलको ७५औँ मिनेटमा कोनर मेटकाफले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे।
त्यसपछि टर्कीले खेलमा फर्कने प्रयास गरेपनि अस्ट्रेलियाको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन।
यस जितसँगै अस्ट्रेलियाले समूह ‘डी’ मा महत्वपूर्ण तीन अंक जोड्दै प्रतियोगिताको शुरुआत प्रभावशाली बनाएको छ।
यता, टर्की भने पहिलो खेलमै हार बेहोर्दै दबाबमा परेको छ।
अस्ट्रेलियाले अब आफ्नो दोस्रो खेलमा पनि जित निकाल्दै नकआउट चरणतर्फको यात्रा थप मजबुत बनाउने लक्ष्य राखेको छ।

