काठमाण्डौ । दशैंको बिदापछि पहिलोपटक खुलेको सेयरबजारमा आज उच्च गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक २.१९ प्रतिशत अर्थात ५८.५५ अंकले घटेर २ हजार ६०४.९६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले घटेर ४५४.६२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल आज बजार घट्नुमा प्राकृतिक विपत्ती नै मुख्य कारण रहेको बताउँछन् । उनका अनुसार जलविद्युत क्षेत्रमा बढी क्षति भएको समाचार आएका कारण आज बजारमा यही क्षेत्रमा बिक्री दबाब देखियो । यी क्षेत्रमा के कति क्षति भएको सो बिषयमा नियामक निकायले प्रष्ट पारेमा बजार सम्हालिन सक्ने गजुरेलको तर्क रहेको छ ।
त्यसैगरि आन्दोलनको विषयले पनि बजार घटेको हुन सक्ने उनले आँकलन गरे ।
यस्तै अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि आज बजार घट्नुमा अस्थिर राजनीतिक अवस्था नै प्रमुख कारण रहेको बताए । ‘पहिले आन्दोलन भए ता पनि सकियो भन्ने थियो । तर पछिल्ला दिनमा फेरि आन्दोलन हुने हल्ला फैलिनुमा उद्योगी तथा लगानीकर्ताहरुमा विश्वास पैदा हुन सकेन,’ उनले भने । केही लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बस्दा पनि आज बजार घटेको उनको विश्लेषण रहेको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ४.८३ प्रतिशतले घट्यो ।
यस्तै बैंकिङ समूह १.३२ प्रतिशत,विकास बैंक २.३८, फाइनान्स १.१२, होटल २.७२, हाईड्रो २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, लघुवित्त १.८७, म्युचुअल फण्ड ०.८८, निर्जीवन बीमा २.०४ र व्यापार समूह १.१७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन युनियन हाईड्रो पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड ३१ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज १९ करोड ४५ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ६१ लाख, शिवम् सिमेन्टको १२ करोड २३ लाख र सिनर्जी पावरको ११ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज सिक्लेस हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.७२ प्रतिशतले बढ्यो ।
यस्तै थ्रिस्टार हाईड्रोको सेयरमूल्य ६.६० प्रतिशत र सिनर्जी पावरको सेयरमूल्य २.९६ प्रतिशतले बढ्यो ।
यो दिन भूगोल इनर्जीको लगानीकर्ताले सर्वाधिक गुमाए । यो कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले खस्कियो । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य पनि ८.५७ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ७.२१ र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ६.८७ प्रतिशतले घट्यो ।