काठमाण्डौ । चौधरी ग्रुपले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।
यस्तै उनले शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान समेत व्यक्त गरेका छन् । ‘उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ,’ उनले लेखेका छन् ।
यो केवल वाचा मात्र नभई गहिरो कर्तव्य र श्रद्धा भएको उनले उल्लेख गरेका छन् ।
उनले थप लेखेका छन्। ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ । हाम्रो टिमले समपुर्ण शहिद परिवारलाई सम्पर्क गर्दैछौं, यद्यपि यसका लागि यहाँहरूले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन बिभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।’