काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१८ प्रतिशत अर्थात ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशतले बढेर ४५७.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब २० करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बजार जानकार दामोदर गजुरेलको भनाईमा आजको बजार बढ्नुको मुख्य कारण राष्ट्र बैंकको बजारमैत्री सर्कुलरको प्रभावले हो । बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न सहज वातावरणसँगै बैंकहरुमा पर्याप्त तरलता हुनुले बजारलाई सकारात्मक प्रभाव पारेको उनको दाबी छ । "बजारमा सबैजसो सेक्टर बढ्न थालेका छन् । बजार २८५० सयको विन्दुसम्म पुग्ने देखिन्छ ।" उनले आफ्नो अनुमान सुनाउँदै भने -"तर पछिल्लो समय थोरै नाफा खाएर बेच्ने लगानीकर्ता हाबी हुँदा यस्तो प्रवृत्तिले बजारलाई प्रभाव पार्ने देखिन्छ । समग्रमा सेयरबजार बढ्दै जाँदा लगानीकर्ताहरुमा आत्मविश्वास पनि बढ्दै गएको छ । बजार बढ्नका लागि टेक्निकल कुराहरुले पनि सर्पोट गरेको देखिन्छ ।"
अर्का जानकार प्रकाश रजौरेले भने राजनीतिक विषय र सरकारका नकारात्मक कुराहरु साम्य हुँदा बजारले लय समातेको दाबी गरे । आफ्नो विश्लेषण सुनाउँदै उनले भने, "सरकारका नकारात्मक कुरा र राजनीतिक विषयका बजारलाई प्रभाव पार्ने खालका कुराहरु नआएकाले बजार बढ्न थालेको हो । साथै नयाँ सरकार चुनावको तयारीमा लाग्दा यसले बजारलाई समेत सकारात्मक प्रभाव पार्नसक्छ ।"
उनको भनाईमा नेपाल धितोपत्र बोर्डसमक्ष उठाइएका मुद्दाहरु र बोर्डमा देखिएका बेतिथिहरु कम हुँदै जानु पनि बजारको लागि सकारात्मक पक्ष हो । अब नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत थप लचकता अपनाउने हो भने बजार ३ हजारको विन्दु पुगेर बुलिस यात्रा तय गर्ने उनको अनुमान छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.१७ प्रतिशतले बढ्यो ।
यस्तै आज बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक ०.९०, होटल १.२०, हाईड्रो १.१८, लगानी ०.८०, जीवन बीमा ४.३५, उत्पादन तथा प्रशोधन ०.९६,लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढ्यो ।
आज व्यापार समूह मात्रै घट्यो । यो समूहमा आज १.१० प्रतिशतको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो । आज हिमालयन बैंकको संस्थापक सेयरको १ अर्ब ६६ करोड बढीको कारोबार भयो । युनियन हाईड्रोपावरको पनि आज ३४ करोड ३० लाख, बुटवल पावरको २५ करोड ४८ लाख, राधी विद्युतको २४ करोड ५० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सामुदायिक लघुवित्त,गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाईड्रो, पिपुल्स पावर, तेह्रचुम पावर, गृह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.०८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ७.९४ प्रतिशत र क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ७.९१ प्रतिशतले बढ्यो ।
खानी खोला हाईड्रोपावर आज सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ४.७६ प्रतिशतले घट्यो ।

