काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारण सभा डाकेको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले सातौं साधारण सभा डाकेको हो ।
उक्त सभा यही मंसिर २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभाले पारित गर्ने प्रस्तावमा गत आवका लागि प्रस्तावित ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय भने समेटिएको छैन । गत भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने भनिएको थियो ।
सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र सो आर्थिक वर्षको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै सर्वसाधारण समूहका २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

