काठमाण्डौ । अमेरिकासँगको व्यापारिक तनावका बीच चीनले अमेरिकाबाट भटमासको आयात लगातार दुई महिना शुन्यमा झारेको छ । दक्षिण अमेरिकाबाट चीनको कुल भटमास आयात रेकर्डस्तरमा पुगेपनि अमेरिकाबाट भने सेप्टेम्बर र अक्टोबर महिनामा शुन्य आयात भएको हो ।
चीनको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको अक्टोबरमा अमेरिकाबाट ५ लाख ४१ हजार ४३४ मेट्रिक टन भटमास आयात भएकोमा अक्टोबरमा शुन्यमा झरेको छ । चीनले वर्षको सुरुवातमा अमेरिकी भटमासमाथि लगाएको ट्यारिफ र अमेरिकी उत्पादनमा आएको ह्रास यसको मुख्य कारण हो ।
चीन विश्वको सबैभन्दा ठूलो भटमास आयातकर्ता हो ।
तर गत अक्टोबरमा दक्षिण अमेरिकी देश ब्राजिलबाट भने भटमासको आयात २८.८ प्रतिशत।ले वृद्धि भएको छ । चीनले ब्राजिलबाट अक्टोबर महिनामा ७१ लाख २० हजार मेट्रिक टन भटमास आयात गरेको छ । जुन चीनले अक्टोबर महिनामा आयात गरेको कुल भटमासको ७५.१ प्रतिशत हिस्सा हुन आउछ ।
यस्तै अर्जेन्टिना पनि १५.४ प्रतिशतले आयात बढेको छ । अर्जेन्टिनाबाट चीनले १० लाख ५७ हजार मेट्रिक टन भटमास आयात गरेको छ ।
अक्टोबर महिनामा चीनले कुल ९४ लाख ८० हजार मेट्रिकटन भटमास आयात गरेको तथ्यांकले देखाउछ ।
चीनले जनवरीदेखि अक्टोबरसम्म ब्राजिलबाट ७ करोड ८ लाख १० हजार मेट्रिक टन भटमास आयात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढी हो । यस्तै उक्त अवधिमा अर्जेन्टिनाबाट ४४ लाख ६० हजार मेट्रिक टन भटमास आयात गरेको छ । जुन गत वर्षको तुलनामा २३.९ प्रतिशतले बढी हो ।

