काठमाण्डौ । भारतमा फिल्मी शैलीमा ७ करोड भारु नगद लुटिएको छ । भारतको कर्नाटका राज्यमा बन्दुकधारी समूहले केन्द्रीय बैंकका अधिकारीहरु भन्दै उक्त रकम लुटेका हुन् ।
भारतको व्यवस्त शहर बैंग्लोरमा दिनदहाडै भएको लुटपाटमा संलग्नलाई पक्राउ गर्न ठूलो संख्यामा सर्च अपरेशन चलाइएको बीबीसीले जनाएको छ ।
यो लुटपाट बुधबार दिउँसो भएको थियो । बैंकको शाखा कार्यालयहरुमा पैसा पुर्याउन गईरहेको भ्यानलाई एसयुभीमा सवार ६ जना हतियारधारीको समूहले व्यस्त सडकमा रोकेर लुटेका थिए । उक्त भ्यानमा एकजना चालक, एकजना नगदको रेखदेख गर्ने व्यक्ति र दुईजना सुरक्षा सार्ड रहेका थिए ।
लुटेराले आफूहरु केन्द्रीय बैंकको कर्मचारी भएको र यति ठूलो मात्रामा रकम ओसारपसार गर्न आवश्यक कागजात भए नभएको प्रमाणित गर्नुपर्ने बताएको बैंग्लोरका पुलिस कमिशनर सिमान्त कुमारले बताए । उनीहरुले भ्यानमा सवार सुरक्षा गार्ड र क्यास कस्टिडियनलाई हतियार राख्न र एसयुभीमा बस्न आदेश दिएका थिए र चालकलाई नगदसहित सवारी साधन चलाउन आदेश दिएका थिए ।
एसयुभीले भ्यानलाई केही किलोमिटरसम्म पछ्याएको थियो तर बीचमा लुटेराहरुले चालकलाई भ्यानबाट र सुरक्षा गार्ड र क्यास कस्टिडियनलाई एसयुभीबाट झारेर नगद लगेर फरार भएका थिए ।
उक्त क्षेत्रमा सिसिटिभी जडान भएकाले अहिले प्रहरीले सिसिटीभी फुटेजको आधारमा अनुसन्धान गरिरहेको जनाएको छ । लुटराहरुले एकभन्दा बढी सवारी साधनको प्रयोग गरेको बारेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

