काठमाण्डौ । लगानी जगतका 'ओराकल' भनेर चिनिने ९५ वर्षीय अमेरिकी अर्बपति वारेन बफेटले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकास भएको युगमा गुगलको मूल कम्पनी अल्फाबेटमा ४.३ अर्ब डलर (लगभग ५ खर्ब ७० अर्ब नेपाली रुपैयाँ) को ठूलो लगानी गरेका छन्।
यो खुलासा बर्कशायर ह्याथअवे कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदनमा भएको छ, जसले लगानीकर्ताहरुबीच ठूलो तरंग पैदा गरेको छ। बफेटको यो कदमले उनको परम्परागत 'सुरक्षित लगानी' नीतिमा एआई प्रविधिप्रति नयाँ विश्वास जागृत भएको संकेत गरेको छ।
बर्कशायर ह्याथअवेको यो लगानीले अल्फाबेटलाई कम्पनीको १०औं ठूलो इक्विटी सम्पत्तिमा पुर्याएको छ। बफेट, जसलाई 'भ्याल्यू इनभेस्टर' भनेर चिनिन्छन्, सामान्यतया टेक कम्पनीहरुप्रति सतर्क रहँदै आएका थिए। विगतमा आईबीएममा असफल लगानी गरेपछि उनी हाई-ग्रोथ टेक स्टकबाट टाढा रहन्थे। तर, यो पटक उनले अल्फाबेटलाई 'आर्थिक खाडल' (इकोनोमिक मोअट) भएको कम्पनी ठानेका छन् - जसको अर्थ प्रतिस्पर्धीहरुलाई टाढा राख्ने बलियो अवरोध हो। १९९० को दशकमा गुगलले सर्च इन्जिन युद्ध जितेर जस्तै, अहिले एआई युगमा गुगलले खर्च घटाउने र नियमन पालन गर्ने क्षमताले आफ्नो प्रभुत्व कायम राख्नसक्ने बफेटको विश्वास छ।
यो लगानी एआई बजारको तीव्र वृद्धिसँग जोडिएको छ। नभिडियाजस्ता कम्पनीहरुले तेस्रो त्रैमासमा ५७ अर्ब डलरको रेकर्ड राजस्व कमाएका छन्, जसको अनुमान वर्षअन्तसम्म ६५ अर्ब डलर पुग्ने छ। तर, एआई 'बुबल' (फोहोरा) को चिन्ता बढ्दै गएको बेला बफेटको यो दांवले गुगलको लचकता देखाउँछ। गुगलले आफ्नो 'आइरनवुड' चिप लन्च गरेको छ, जसले जीपीयु जस्तो काम २० प्रतिशत कम लागतमा गर्छ। साथै, नभिडिया चिप बिना नै तालिम दिइएको 'जेमिनी ३' एआई मोडेललाई पृथ्वीको सबैभन्दा उन्नत ठानेको छ। गुगलका अनुसार, फ्रन्टियर एआई मोडेल तालिमका लागि ६००-७५० मिलियन डलर मात्र खर्च हुन्छ, जबकि ओपनएआई, एन्थ्रोपिक, माइक्रोसफ्ट र मेटाजस्ता प्रतिस्पर्धीहरुले ३-४ अर्ब डलर खर्च गर्छन्। यसले गुगललाई एआई चिप बजारमा नभिडियाको एकाधिकार तोड्ने अवसर दिन्छ।
बफेटको कम्पनीले एप्पलमा आफ्नो ठूलो सम्पत्ति घटाएको छ, तर एप्पल अझै पनि ६४ अर्ब डलरसँग बर्कशायरको सबैभन्दा ठूलो स्टक हो। यो खुलासापछि अल्फाबेटको सेयर मूल्य ३.१ प्रतिशतले उक्लिएको छ, जसले टेक स्टकको समग्र कमजोरीलाई चुनौती दिएको छ। अर्कोतर्फ, पिटर थिएलको हेज फन्डले नभिडियाबाट ५ लाखभन्दा बढी सेयर (१०० मिलियन डलर मूल्य) बेचेर बाहिरिएको छ।
गुगलको 'खाडल' ले सधैं प्रतिस्पर्धीहरुलाई टाढा राखेको छ-खर्च न्यूनीकरण र नियमन अनुपालनमार्फत। यसको विज्ञापन राजस्व २००८ को वित्तीय संकट, कोभिड महामारी र २०२२ को मुद्रास्फीतिमा पनि स्थिर रह्यो। युवा प्रयोगकर्ताहरु एआई र सोसल मिडियातर्फ सर्ने भए पनि, गुगलको विशाल प्रयोगकर्ता आधार र प्लेटफर्म अनुकूलन क्षमताले यसलाई बलियो बनाउँछ। तर, बौद्धिक सम्पत्ति मुद्दा, नियमन चुनौती र सर्चको अप्रासंगिकता जस्ता जोखिमहरु कायम छन्।
बफेटको यो कदमले उनको दर्शनलाई पुष्टि गर्छ: 'लामो समय टिक्ने कम्पनीमा लगानी गर्नुहोस्।' एआई युगमा उनको यो 'एन्ट्री' ले पार्टी सकिन लागेको बेला नयाँ उत्साह थपिएजस्तो भएको छ । लगानीकर्ताहरुले अब गुगलको एआई रणनीतिलाई नजिकबाट हेर्न थालेका छन्।
-Agencies

