काठमाण्डौ । युद्ध अन्त्य गर्ने ‘ट्रम्पको शान्ति योजना’ माथिको छलफलका बीच युक्रेन र रुसले एकअर्काका सहरमा आक्रमण गरेका छन् । युक्रेनको राजधानी किभका मेयर भिटाली क्लित्सकोले रुसी आक्रमणमा ६ जनाको मृत्यु भएको बताएका छन् ।
यसअघि अधिकारीहरूले कम्तिमा दुईवटा आवासीय ब्लकमा आक्रमण भएको बताएका थिए।
जबकि रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार र रोस्तोभको सीमा क्षेत्रमा रातभरि कैयौं हवाई आक्रमण गरेको बताए । रुसी रक्षा मन्त्रालयले रुसी सेनाले २४९ युक्रेनी ड्रोन खसालेको जनाएको छ ।
रोस्तोभ क्षेत्रका कार्यवाहक गभर्नरले यी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको बताएका छन्। यसैबीच, शान्ति योजनाको मस्यौदामा जेनेभामा भएको वार्तापछि रुसी प्रतिनिधिसँग अबुधाबीमा बैठक हुने एक अमेरिकी अधिकारीले बताए ।
जेनेभामा आइतवार प्रारम्भिक प्रस्तावित ट्रम्प शान्ति योजनामा बैठक बसेको थियो र यसलाई परिमार्जन गरिएको थियो, जसलाई अपडेटेड पीस प्लान भनिएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्ति योजनासँग आफू ‘व्यापक रूपमा’ सहमत भएको बताएका छन् ।

