काठमाण्डौ । रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँग शान्ति सम्झौतामा सहमति बनेको बताएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिकासँग शान्ति सन्धिको रूपमा सम्झौता भएको बताएका छन् ।
ट्रम्पले ट्रुथ सोसलमा प्रारम्भिक अमेरिकी योजनामा दुवै पक्षका सुझावलाई ध्यानमा राखिएको छ र त्यहाँ केही मुद्दाहरू मात्र बाँकी छन् जसमा असहमति भएको लेखेका छन् । उनले लेखेका छन्, ‘यस शान्ति योजनालाई अन्तिम रूप दिने आशामा मैले विशेष दूत स्टिभ विटकफलाई मस्कोमा राष्ट्रपति पुटिनसँग भेट्न निर्देशन दिएको छु र एकै समयमा, सेना सचिव डान ड्रिस्कोलले युक्रेनी प्रतिनिधिहरूसँग भेट गर्नेछन्।’
उनले थप लेखेका छन्, ‘म छिट्टै राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्कीलाई भेट्नेछु, तर यो शान्ति सम्झौताले अन्तिम रूप लिँदा वा अन्तिम चरणमा पुगेपछि मात्रै ।’
तर, रुसले यसअघि नै नयाँ मस्यौदा सम्झौतामा रुससँग परामर्श नगरिएको बताएको थियो । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्को प्रारम्भिक अमेरिकी ढाँचाको पक्षमा रहेको तर त्यसमा ठूला परिवर्तन गरे अवस्था ‘पूरै फरक’ हुने चेतावनी दिएका छन् ।
युरोपले अमेरिकाको शान्ति प्रयासलाई कमजोर बनाएको आरोप लगाउँदै लाभरोभले मंगलबार बिहानसम्म क्रेमलिनले नयाँ योजनाको प्रतिलिपि प्राप्त नगरेको बताए।
यसअघि सोमबार र मंगलबार अबुधाबीमा रुसी प्रतिनिधिसँग ड्यान ड्रिस्कोलको भेटघाट पनि भएको थियो । अर्कोतर्फ, जेलेन्स्कीले यस शान्ति योजनामा पहिले असन्तुष्टि व्यक्त गरेका थिए, तर अब उनले यो महिनाको अन्त्यसम्ममा ट्रम्पसँग भेट्ने सहमति जनाएका छन्।

