काठमाण्डौ । सेयरबजारको वृद्धि आजपनि जारी रहेको छ । साताको चौथो कारोबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४५९.१७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन भने ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अहिले लगानीका लागि सेयरबजार नै उचित क्षेत्र देखिएको छ । सस्तो ब्याजदरमा लगानी गर्न सकिने र रिटर्न पनि बढी पाउने सम्भावना रहेको क्षेत्र भनेकै सेयरबजार रहेकाले अहिले इन्भेष्टर्सहरु छिरिरहेका छन् । अहिले लगानीकर्ताहरुको मनोबल पनि उच्च भएको देखिएको छ । सायद यहि साता मौद्रिक नीति समिक्षा पनि आउने सम्भावना छ । मौद्रिक नीति समिक्षामा केही राम्रो आयो भने अझै बजारका लागि प्लस प्वइन्ट हुन सक्छ । तर यो भन्दा बजार घट्नुपर्ने त्यस्तो कारण भने केही छैन ।’
त्यस्तै, अर्का बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘टेक्निकल रुपमा हेर्दा बजार अहिले बढेको देखिन्छ । सर्ट टर्म ट्रेडरहरु पनि बजारमा प्रवेश गरेका छन् । अहिलेको समय बजार बढ्नुपर्ने सिजन पनि हो । बजार बढ्नका लागि फन्डामेन्टल पक्षले पनि सर्पोट गरिरहेकै छ । लगानीकर्ताहरु अहिले बजार छिरेको देखिन्छ । यसकारण दैनिक कारोबार पनि बढ्दै गएको छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज होटल बीमा समूह सर्वाधिक अर्थात ०.९९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.६६ प्रतिशत, विकास बैंक ०.१२, हाईड्रो ०.२८, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७१ अन्य ०.४५ र व्यापार ०.६८ प्रतिशतले बढ्यो ।
जीवन बीमा समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.३२ प्रतिशतले घट्यो ।
यस्तै फाइनान्स समूह ०.१६ प्रतिशत, लगानी ०.१७, म्युचुअल फण्ड ०.०४ र निर्जीवन बीमा ०.३३ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६२ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै शिवम् सिमेन्टको २६ करोड ७५ लाख, हिमालयन डिस्टिलरीको २३ करोड ४१ लाख, बन्दिपुर केवलकारको १९ करोड ६८ लाख र हिमालयन रि इन्स्योरे्न्सको १८ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी, श्रीनगर एग्रोटेक,स्वस्तिक लघुवित्त र रिभर फल्स पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज महुली लघुवित्तको सेयरमूल्य ९.१८ प्रतिशत, फर्स्ट माईक्रोफाइनान्सको ८.९५ र पिपुल्स पावरको सेयरमूल्य ५.५८ प्रतिशतले बढ्यो ।
यो दिन बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य सर्वाधिक अर्थात ३.९४ प्रतिशतले घट्यो ।
यस्तै उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ३.८१ प्रतिशत र शुभम् पावरको सेयरमूल्य ३.६५ प्रतिशतले घट्यो ।

