काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा कम्पनीले आवेदन दिएका छन् । बोर्डमा काबेली हाईड्रोपावर र निभिक्स फर्मास्युटिकल्सले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन् ।
काबेली हाईड्रोपावरले ४१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ४१ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै मंसिर ८ गते आवेदन दिएको हो ।
सेबोनबाट स्वीकृती पाएपश्चात कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस्तै निभिक्स फर्मास्युटिकल्सले १३ करोड ७५ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक ३० गते आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबनधकको रुपमा नेपाल एसबिआई मेर्चेन्ट बैंकिङ रहेको छ ।

