काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले लाभांशको प्रस्तावबिना साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा अपरान्ह १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै प्रस्ताव पेश नगरेकाले लाभांशसँग सम्बन्धित कुनै पनि एजेण्डा सभामा पेश हुने छैन ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

