काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले आव २०८१/८२ को मुनाफाबाट चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा अपरान्ह २ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
उक्त सभामा गत आवमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई प्रदान गरिएको ९ लाख ८७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग अनुमोदन गर्ने, गत आवको वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरणहरु समेत पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिमा रिक्त हुने चारजना सञ्चालकको पदपूर्तिका लागि निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

