काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरणका लागि वार्ता पुनः तीव्र बनेको छ । स्रोतका अनुसार दुवै पक्ष सहमति नजिक पुगेका छन् र एकताको ड्राफ्ट तयार भइरहेको छ ।
वार्ता रास्वपाका नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमै केन्द्रित भएर भइरहेको छ । यसअघि शक्ति बाँडफाँटमा कुरा नमिलेपछि वार्ता निष्कर्षविहीन बनेको थियो तर अहिले रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच अन्तिम छलफल चलिरहेको स्रोतले जनाएको छ ।
काठमाडौं मेयर बालेन शाहको उपस्थितिमा रास्वपा र कुलमानबीच औपचारिक हस्ताक्षर हुने तयारी भइरहेको छ । यसअघि रवि-बालेनबीच ७ बुँदे सहमति भइसकेको अवस्थामा कुलमानको उज्यालो नेपाल पार्टीलाई समेट्ने प्रयास अन्तिम चरणमा पुगेको हो ।
निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा नजिकिँदै गर्दा यो वार्ताले वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरणलाई नयाँ मोड दिन सक्ने विश्लेषकहरूको भनाइ छ । एकताले वैकल्पिक शक्तिहरूको एकताबद्ध उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
यसअघि शक्ति बाँडफाँटमा मतभेद देखिए पनि अहिले सम्मानजनक सहभागिताको आधारमा सहमति जुट्ने सम्भावना बढेको स्रोतको दाबी छ । वार्ताको निष्कर्ष चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

